नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र झापा भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत बुटवल लुम्बिनी र झापा एफसीबीच आज खेल हुँदैछ। खराब सुरुवात गरेपनि पछिल्लो समय लयमा रहेको बुटवल ५ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा छ।

उता यस सिजन जितविहीन दुई टिम मध्येको एक झापा एफसी भने ३ अंक लिएर आठौं स्थानमा छ। शीर्ष चारमा रहँदै प्लेअफ पुग्नका लागि दुवैलाई आजको खेल महत्वपूर्ण छ।

बुटवलले ५ खेल खेल्दा २ मा जित १ बराबरी र २ हारको नतिजा निकालेको छ। ४ खेल खेलेको झापाले भने पहिलो खेलमा हारेको थियो भने त्यसपछि लगातार तीन बराबरी खेलेको थियो।

आजको खेलमा झापालाई पराजित गर्न सके बुटवल लुम्बिनी यस सिजन दोहोरो अंक जोड्ने पहिलो टिम बन्दै शीर्ष स्थानमा पुग्नेछ।

अन्य नतिजामा भने बुटवललाई पनि प्लेअफ पुग्न कठिन हुन सक्छ। किनभने आजको खेलपछि बुटवलको दुई खेल मात्र बाँकी रहन्छ।

उता झापाको लागि भने आजको खेल गर या मर जस्तै अवस्थामा छ। आज बुटवललाई पराजित गरेमा झापा छैटौं स्थानमा पुग्नेछ। जितले झापाको प्लेअफ सम्भावना कायम राख्नेछ। तर पराजित भएमा भने झापाको प्लेअफ समीकरण निकै कठिन बन्नेछ।