सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन्। हिजो वादी पक्षको बहस सकिएको छ। वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए।

आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधवार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे।

बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका छन्। बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए। सापकोटाले आज पनि बहसलाई निरन्तरता दिनेछन्।

सापकोटापछि प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्ने तयारी रहेको छ।

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए। त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ।