यस्तो छ आजको माैसम पूर्वानुमान

काठमाडौं। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि दिउँसोदेखि‍ पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

शनिबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई भूभागका केही स्थानमा हल्का देखि मध्यम हुस्स र कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रातिपनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।