राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (आज) उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी आयोगले अपराह्न नामावली प्रकाशन गर्ने कार्यसूची छ।

आयोगको कार्यतालिका अनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी बिहीबार नामावली प्रकाशन गर्न लागिएको हो।

उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ ।

निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन् । शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।