गाडी एकापसमा ठोक्किँदा ११ जना घाइते

सुर्खेत। सुर्खेतमा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकापसमा ठोक्किएका थिए।

राजधानी वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकापसमा ठोक्किएका थिए।

जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार दुई वटै गाडीमा सवार ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ।

घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ भने स्कार्पियोका चालक फरार रहेको प्रहरीको भनाइ छ।