ब्रान्डेड रक्सीको नाममा नक्कली रक्सी बनाउँदै बेच्ने ९ जना पक्राउ

काठमाडौं। काठमाडौंमा ब्रान्डेड मदिराको नाममा चिनीपानी र केमिकलको घोल बनाएर हानीकारक पदार्थ बेच्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली रक्सी बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

विभिन्न ब्रान्डका नाममा नक्कली मदिरा बजारमा आउने गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अपरेशन लिमा-३ चलाएर नक्कली रक्सी बनाउने गिरोहलाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोठामा छापा हानेको थियो।

त्यहाँ नक्कली रक्सी बनाउन आवश्यक पर्ने विभिन्न सामग्रीहरू प्रहरीले बरामद गरेको थियो। चिनी पानी मिश्रित तरल पदार्थ,विभिन्न रक्सीका खाली बोत्तल र अन्त शुल्कको स्टिकर,लेबलिङ र प्याकेजिङका लागि प्रयोग गरिने सामान बरामद गरेको थियो।

नक्कली रक्सी बनाउन प्रयोग हुने सामग्रीसहित प्रहरीले त्यसमा संलग्न गिरोहलाई पक्राउ गरेको एसपी रेग्मीले जानकारी दिए।

रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्कालाई पक्राउ गरेको छ।

साथै सिन्धुलीका २८ वर्षीय गौरव तामाङ,काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की, रापेछापका २० वर्षीय मनिष खत्री पक्राउ परेका छन्।

उनीहरूले खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेभल, गोल्डेन ओक लगायतका ब्रान्डका रक्सीहरू नक्कली बनाउने गरेको एसपी रेग्मीले जानकारी दिए।

त्यसरी बनाइएका रक्सीहरू प्रचलित बजारभाउ भन्दा कम मूल्यमा विभिन्न लिकर शपहरूलाई बेच्ने गरेको पाइएको एसपी रेग्मीले जानकारी दिए।

उनीहरूको डेराबाट प्रहरीले नक्कली रक्सीहरू ६३ बोत्तल गोल्डेन ओक, ४८ बोत्तल ८८४८ भोड्का, ९ सय बोत्तल फाइटर प्रिमियम डिलक्स ब्लन्ड, ९६ बोत्तल ‘३६५ डेज् ब्ल्याक त्रिपल एक्स’ , ८८ बोत्तल खुकुरी रम, १५ बोत्तल सगुन गोल्ड बरामद भएको एसपी रेग्मीले जानकारी दिए।

उनीहरू यसअघि पनि पक्राउ परेका थिए। नक्कली मदिरा बनाएर बेचेको आरोपमा यही गिरोहका केही व्यक्ति ०७९ भदौ ८ गते पक्राउ परेर कारबाही गरिएको भएपनि कारबाहीपछि पुनः त्यही काम गरेपछि पुनः पक्राउ परेका हुन्। उनीहरू तीन वर्षदेखि (०७८ देखि) नक्कली रक्सी बनाएकै कसुरमा पटकपटक पक्राउ परी पटकपटक धरौटीमा छुटेका थिए।

‘यसअघि त्यो समूहका केही व्यक्तिहरू धरौटीमा छुटेका थिए। छुटेपछि पनि त्यही काम गर्न थालेछन्,’ एसपी रेग्मीले भने।

उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी रेग्मीले जानकारी दिए।

साथै थप अनुसन्धान र कारबाहीका लागि नौ जनालाई नै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।