घुसलिएपछि मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखलाई ६ महिना कैद

ताप्लेजुङ। घुस लिई भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई सजाय सुनाइएको छ। शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो।

मालपोत प्रमुख रहेकी उनले जग्गा दाखिल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम लिएको भेटिएको थियो। फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीसँग उनले घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो। जसपछि अख्तियारले गत वर्ष २४ असारमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो।

महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन्। उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो। भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा उनलाई विभूषण प्रदान गरिएको हो।

यस मुद्दामा सरकारी साक्षी रहे पनि प्रतिकूल बकपत्र गर्ने भावना महतले भने सफाई पाएकी छिन्। लेखालाई दोषी ठहर गरेको इजलासले नै भावनालाई सफाई दिएको हो। यी दुवै मुद्दा लगाउमा राखी सुनुवाई भइरहेका थिए।

लेखाले घुसवापत लिएको रकम भावनालाई राख्न दिएकी थिइन्। उनले यहि कुरा अख्तियारलाई बताइकी थिइन्। जसकारण अख्तियारले उनलाई मतियारको रुपमा मुद्दा नचलाई सरकारी साक्षीका रुपमा पेस गरी सजाय छुट दिएको थियो।