यू-१९ विश्वकप क्रिकेट: नेपालले सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।

समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो । नेपालले माघ १७ गते बुधबार (३१ जनवरी)मा बंगलादेशसँग खेल्नेछ।

त्यस्तै दोस्रो खेल नेपालले माघ १९ शुक्रबार(फेब्रुअरी २)मा भारतसँग खेल्ने पक्का भएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको हो। पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेको थियो।

नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो।

नेपालसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा सुपर सिक्समा छन्। अर्को सुपर सिक्समा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।

दुबै सुपर सिक्समा शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सुपर सिक्समा समूह चरणको अंक तालिका पनि गणना हुन्छ।