कम्युनिस्ट पार्टीहरू नामका मात्र भए: नेता खानाल

फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादी मात्र रहेको बताएका छन्।

सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेता खनालले अन्य पार्टीहरू नामका मात्रै कम्युनिस्ट पार्टी रहेको बताए।

‘जति पनि कम्युनिस्ट पार्टी छन् ती कम्युनिस्ट पार्टीहरू नामका कम्युनिस्ट पार्टी भए पनि समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न सकेका छैनन्।

त्यस्तो पार्टी बनाउने जिम्मा आज हाम्रो पार्टीको काँधमा आएको छ,नेता खनालको भनाइ छ। नेता खनालले परिषद् बैठकमा एउटै एजेन्डामा मात्र छलफल भएको र विधान कसरी परिष्कृत गर्ने भन्नेबारेमा छलफल भएको भन्दै उनले अझै पार्टी विधानमा धेरै कुरा सच्चाउनुपर्ने रहेको बताए।

विधानको पहिलो वाक्य पढ्दै खनालले भने,नेपाल कम्युनिस्ट पार्टी आम नेपाली जनता तथा श्रमजीवी सर्वहारा वर्गको हित र प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो।उनले नेपाल कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको पार्टी हुनुपर्ने भन्दै सबैको प्रतिनिधित्व गर्ने पार्टी हुन नसक्ने बताए।

‘सबै वर्गको प्रतिनिधित्व गर्ने पार्टी हुँदैन। तर कम्युनिस्ट पार्टीले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ। त्यसैले विधानमा सच्याउनुपर्ने धेरै कुरा छन्, उनले विधानमा रहेको अर्को वाक्यांश पढ्दै ‘लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवाद भनेको के हो ? भनेर प्रश्न गरे।