६ महिनामा ६५६ युवाले विदेशमा ज्यान गुमाए

सांकेतिक तस्वीर

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका ६ सय ५६ जनाले ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगार विभिन्न देश पुगेका ६ सय ५६ जनाले कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना र आत्महत्या लगायतका कारण ज्यान गुमाएका हुन्।

यो संख्या ६ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने अझै धेरै होलान्।

बोर्डका अनुसार पछिल्लो ६ महिनामा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन्।

पर्याप्त तालिम,सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो संख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन्। बोर्डको तथ्यांक अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन्।

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको २०८०/ ८१ को पुस महिनासम्म १३ हजार ७७ जनाले ज्यान गुमाएका छन्। यो संख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो। यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्।

चालु आर्थिक वर्षको छ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएकामध्ये ६ सय ५६ नेपाली श्रमिकले ज्यान गुमाएका छन्।