सरकार फेरबदलको कसरत हुँदै को–को निस्किएलान् ?

काठमाडौं । कहिले एमाले त कहिले कांग्रेस लगायतका दलका दलहरुको फेरो समाउँदै प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले १२ पटक मन्त्रिपरिषद् फेरबदल गरिसकेका छन्।

आलोपालो नेतृत्व लिने सहमतिमा प्रधानमन्त्री बनेका दाहालले फेरि मन्त्रिपरिषद् फेरबदलको तयारी थालेका छन्। गत पुसमा नै एक वर्षे अवधि पूरा भएलगत्तै मन्त्रिपरिषद् फेरबदल गर्ने उनको प्रयास भने कांग्रेसको आन्तारिक खिचातानीले गर्दा रोकिएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत वर्ष पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि राष्ट्रपति निर्वाचनको बेलामा एमालेलाई छाडेर पुरानै गठबन्धनको साथ लिन आइपुगेका दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि लामो समय लाग्यो।

सत्ता साझेदार दलहरुको आन्तरिक खिचातानीले गर्दा पनि सरकारलाई पूर्णता दिन हम्मेहम्मे परेको थियो। दाहाल नेतृत्वको वर्तमान सरकारमा

कांग्रेसका ९,माओवादी केन्द्रका एक राज्यमन्त्रीसहित ५,एकीकृत समाजवादी र जसपाबाट एक एक राज्यमन्त्रीसहित ३/३ जना मन्त्री छन्। यस्तै, जनमत पार्टी,लोसपा,नागरिक उन्मुक्ति तथा बाबुराम नेतृत्वको नेसपाबाट एक एक जना मन्त्री छन्।

गठबन्धनलाई खुशी पार्न दाहालले यसअघि आफ्नो पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाइसकेका छन्। आफ्नो पार्टीका केही मन्त्रीहरुलाई बोलाएर अरुलाई अवसर दिने रणनीतिमा दाहाल छन् भने राष्ट्रियसभामा निर्वाचित भएका गठबन्धन दलका अन्य केहीलाई मन्त्री बनाउने तयारी छ।

राष्ट्रियसभा अध्यक्ष बनाउने योजनाका साथ संसदमा छिराइएका कांग्रेसका कृष्णप्रसाद सिटौलालाई मन्त्रिपरिषद्मा लैजानेबारेमा पनि छलफल चलेको स्रोतले बताएको छ। तर मन्त्रीहरु भने सरकार फेरबदल नगर्न लविङ गरिरहेका छन्।

दाहाल नेतृत्वको वर्तमान मन्त्रिपरिषदभित्र रहेका थुप्रै मन्त्रीहरु विवादित बन्दै गएका छन्। माओवादीकै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराँती,कांग्रेसका स्वास्थ्यमन्त्री मोहन बस्नेत,एकीकृत समाजवादीका प्रकाश ज्वाला,लोसपाका श्रममन्त्री शरतसिंह भण्डारी लगायत पटक पटक विवादमा तानिएका छन्।

आलोचित र विवादित मन्त्रीहरुलाई फिर्ता बोलाउने दाहालको योजनामा भने गठबन्धका कारण सहज देखिदैन।