प्रहरी समायोजनमा ओलीको असन्तुष्टि

फाइल तस्वीर

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सर्लाही जाने क्रममा आज जनकपुरधाम एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिज्ञले प्रहरी चलाएकाले धेरै बिग्रिएको बताएका छन्। प्रहरीलाई राजनीतिबाट टाढा राख्नुपर्ने उनको धारणा छ।

प्रदेश सरकारहरूको निरन्तरको प्रयासपछि संघ सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाएका वेला ओलीले प्रहरीलाई मेरो र तेरो बनाउन नहुने बताए।

उनले भने, ‘पुलिस त छँदै छ, कसले चलाउने भन्ने कुरामा विवाद हो । राजनीतिज्ञले प्रहरी चलाएर धेरै बिग्रिएको छ । नेताहरूले प्रहरी आफ्नै अधीनमा हुनुपर्छ भन्नु गलत हो, सरकारको ध्यान जनतालाई सेवा दिने कुरामा हुनुपर्छ। प्रहरी कसले चलाउने भन्नेमा होइन।

मुख्यमन्त्रीहरूले प्रदेशमातहत प्रहरी नहुँदा शान्ति सुरक्षालगायतका काममा असर परेको भन्दै प्रदेशकै प्रभावकारितामाथि प्रश्न उठेको भन्दै निरन्तर संघ सरकारलाई दबाब दिँदै आएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समायोजनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका वेला प्रमुख प्रतिपक्षी दलका नेताको यस्तो धारणा आएको हो।

ओलीले मधेश प्रदेशकै राजधानीमा पुगेर आफूले प्रहरी चलाउन पाइनँ भनेर गुनासो गर्नु नाजायज रहेको बताएका हुन्।आफ्नै मान्छे प्रहरी र कर्मचारीमा कोच्न पाउँ भन्नु गलत हो,’ उनले भने, ‘प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्छ।