क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रजापतिले ७ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।