५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा परिवर्तन गरिन्छ: महासचिव विप्लव

फाइल तस्वीर

बुटवल। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन्।

शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए।

‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ,विप्लवले भने,एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ।

उनले अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरे। २० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले खुलाए।

दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने उनले आग्रह गरे।

‘सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका छन् तर देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै हो, यसमा कांग्रेस लगायत लोकतान्त्रिक शक्ति र वामपन्थी दलहरुबीच वहस गरौं,चन्दले भने,हाम्रो दुश्मन शक्ति भनेको दलाल पुँजीवाद र साम्राज्यवाद हो जसले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि हमला गरिरहेको छ, अरु शक्तिसंग मिलेर जान तयार छौं।

अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ।

माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने उनले बताए। मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नसके त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने चन्दले तर्क गरे।