समाजवादी मोर्चामा जोडिएका विप्लव संसदीय राजनीतिमा फर्किने संकेत

फाइल तस्वीर

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीबाट अलग भई मोहन वैद्यसँगै रहेका नेत्रविक्रम चन्द विप्लव वैद्यसँग २ वर्ष पनि टिक्न सकेनन्।

वैद्यसँग सम्बन्ध विच्छेद गर्दै नयाँ पार्टी बनाएका विप्लवले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा नै फर्किए।

पछिल्लो समय सत्तारुढ दलहरु संलग्न समाजवादी मोर्चामा जोडिएका विप्लवले संसदीय राजनीतिमा फर्किने संकेत दिन थालेका छन्।

१० वर्षे जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी क्षतविक्षत बन्न पुग्यो। युद्धका कमाण्डर प्रचण्ड संसदीय भाषमा पुगेको भन्दै वैद्य–विप्लव लगायतको ठूलो समूह २०६९ सालमा अलग भई नयाँ पार्टी बनाएका थिए।तर त्यसको दुई वर्ष नपुग्दै वैद्यबाट पनि क्रान्ति नहुँने निश्कर्ष निकाल्दै विप्लव पुनः छुट्टिए।

वैद्य समूहबाट अलग भई हिंसात्मक गतिविधि थालेपछि सरकारले विप्लव समूहलाई सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो।

वैद्यबाट अलग भई हिंसात्मक बाटो समातेका विप्लवले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २० गते तीन बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा नै आउने उद्घोष गरे।

आफूलाई संसदीय ब्यवस्थाको कट्टर विरोधी भन्दै आएका विप्लवले पुनः संसदीय राजनीतिमा आउने संकेत गरेका छन्।

गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा लड्ने नीति अख्तियार गरेपछि विप्लव समूहमा अन्तरविरोध देखा परेको थियो।

त्यही अन्तरविरोध उत्कर्षमा पुग्दा धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली लगायतको समूह विप्लवबाट अलग भएका थिए। बास्तोला समूहको विभाजनपछि विप्लव सत्तारुढ दलहरुसँग नजिकिएका हुन्।

सत्तारुढ दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसँगै समाजवादी मोर्चा बनाएर सत्ता निकट बन्दै गएका विप्लवले शनिवार मात्रै बुटवलमा आयोजित कार्यक्रममा बोल्दै आफूले यहि ब्यवस्था भित्रै सत्ताको नेतृत्व गर्ने चाहना ब्यक्त गरे।

यहि ब्यवस्थाभित्र रहेर पाँच वर्षभित्रमा मुलुकलाई समृद्धिको दिशामा लैजान सकिने अभिब्यक्तिबाट विप्लव संसदीय राजनीति स्वीकार गर्ने संकेत गरेका हुन्।

यस्तो अभिब्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न आशंका गरिए पनि विप्लवले ओलीसँग ३ बुँदे सहमति गर्नु अघि नै सत्ता साझेदारको माग अघि सारेका थिए। तर उनको त्यो मागलाई सत्तारुढ दलहरु कसैले पनि वास्ता गरेनन्।

सत्तारुढ दलहरुसँगको समाजवादी मोर्चाबाट राजनीति गतिविधि अघि बढाएका विप्लव प्रचण्डसँग नजिकिँदै गएका छन्। त्यसैले विप्लवसँगको निकटताकै कारण प्रचण्डले आफ्नो पार्टीमा नेतृत्वमा विकल्प नभएको संकेत केही दिनअघि सार्वजनिक गरेका थिए।

प्रचण्डको यस्तो अभिब्यक्तिले आफ्नो उत्तराधिकारी विप्लवलाई बनाउने संकेत देखिन्छ।

यहिबीचमा अहिले निर्वाचनलाई समेत स्वीकार गरेर जान सकिने र सरकारको समेत नेतृत्व लिने चाहनाले विप्लव २०८४ सालको निर्वाचनअघि नै प्रचण्डसँग एकता गरी वा समाजवादी मोर्चाको टेको लिएर सत्ता र शक्तिको अभ्यास गर्ने बाटोतर्फ अघि बढेको संकेत देखिन थालेको छ।