क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

काठमाडौं। ओडीआई सिरिजको तेस्रो खेलमा क्यानडाले नेपाललाई २ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोड्यो। नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए ।

धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए। कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे। उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो। नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिए।

ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरिरहेको हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५.२ मा पुगेको थियो ।

निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१.४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे ।

हर्ष ठाकर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।

विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए ।

डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए। हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १.१ विकेट हात पारे ।

नेपालले आजको खेलमा ४ परिवर्तन गरेको थियो । पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् । हेमन्त डेब्यु गर्दैछन् । नेपालले आजको खेल जिते तीन खेलको सिरिज क्लिनस्विप गर्नेछ।