माओवादीको विधान अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं। सरकारमा रहेको माओवादी केन्द्रको विधान अधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने अधिवेशन तीन दिनसम्म चल्नेछ।

अधिवेशनमा देशभरका १२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य,तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहने जनाइएको छ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो। पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो।

नेतृत्व चयनको विषयमा माओवादी नेताहरु विभाजित रहेको अवस्थामा हुन लागेको विधान अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।