लिग २ को दोस्रो खेल: नेदरल्याण्डसविरुद्ध नेपालको सानदार जीत

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ। शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो। नेपालका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए। उनले ४५ बलमा ८ चौका र १ छक्का हिर्काए। अनिल साहले विस्फोटक पाली खेल्दै ३६ बलमा ५७ रन बनाए। उनले ६ चौका र ४ छक्का हिर्काए।

नेपालले एक मात्र विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो। उनी २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए।

यसअघि राम्रो बलिङ प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए। उनले ४९ बलमा १ चौका प्रहार गरे। त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए। कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे।

नोआ क्रोएसले १२ रन बनाउँदा म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए। नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।