एमाले केन्द्रीय कमिटीको बैठक बस्दै,६ कार्यसूचीमा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ।

बैठकमा ६ कार्यसूची तय भएका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय पनि छन्। जनपरिचालन र जनदबाबका एजेन्डाहरु पनि तय भएका छन्।

गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको हो। गत बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो।