कांग्रेसको महासमिति बैठकमा गगनलाई झड्का

ललितपुर। नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन विपक्षमा बलियो मत देखिएको छ।

महासमिति बैठकमा थापाले पेस गरेको प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने उल्लेख छ। तर, थापाको प्रस्तावले वर्तमान गठबन्धन नै संकटमा पर्न सक्ने भन्दै अधिकांश महासमिति सदस्यहरूले विपक्षमा मत राखेका छन्।

जसका कारण उनको प्रस्ताव संशोधनबिनै पारित हुने सम्भावना कमजोर बन्दै गएको नेताहरूले जनाएका छन्। भविष्यमा हुने आवधिक निर्वाचनहरूमा गठबन्धन नगर्ने भनेर अहिले नै संकल्प गरिन नहुने उनीहरूको माग छ।

कांग्रेसको महासमिति बैठककै बीच मंगलबार प्रधानमन्त्री समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लिएर बैठक स्थलमा थप तरंग उत्पन्न भएको छ।

प्रचण्डको चाहना विपरीत महासमिति बैठकमा गठबन्धन विरोधी प्रस्ताव आएको र यसले समस्या निम्तन सक्ने भन्दै बैठकमा तीव्र छलफल भइरहेको हो।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा थापाको सहित पाँच वटा प्रतिवेदनमाथि बुधवार बन्दसत्रमा समूहगत छलफल भइरहेको छ। सनराइज सम्मेलन केन्द्रमा चार समूहका लागि छुट्टाछुट्टै छलफल कक्ष बनाइएको छ।

गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यले प्रतिवदेनमाथि बहस गरे भने विशंखु नारायण हलमा मधेस र कर्णाली, फुलचोकी हलमा बागमती र गण्डकीका प्रतिनिधिले छलफल गरेका छन्।

यस्तै केन्ज्योसोम हल लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको लागि छुट्याइएको छ। केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी भएका छन्।

एक महासमिति सदस्यले ५ प्रस्तावमाथि ५ मिनेटभित्रै सुझाव दिइसक्नुपर्नेछ। सबै प्रतिवेदनमाथि आज समूहगत छलफल गर्ने र बिहीबार प्रतिवेदन पारित गर्दै बैठक सक्ने कांग्रेसको तयारी छ।

तर, छलफलका क्रममा गठबन्धन र हिन्दुराष्ट्रको विषय प्रमुख बनेको छ। गण्डकी र बागमती प्रदेशका महासमिति सदस्यहरुको समूहमा गगन थापाको प्रतिवेदनको विपक्षमा बलियो मत देखिएको छ। 

छलफलको विषय गठबन्धन र धर्मको एजेण्डा बनेको छ। सदस्यहरूले क्रियाशील सदस्यताको विषय र महिला सहभागिताको विषयमा पनि बोलिरहेका छन्,उनले भने।

यसैबीच सभापति शेरबहादुर देउवाले आफूपक्षीय नेता र जिल्ला सभापतिहरूलाई अघोषित रूपमा गगनको प्रस्तावको विपक्षमा मत राख्न सर्कुलर गरेको एक नेताले बताए।

कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति,महामन्त्री गगन थापाको सांगठनिक,अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक,अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदन पेस भएको छ।