गठबन्धन सरकारप्रति झलनाथको चरम असन्तुष्टि ‘देशले नयाँ कोर्स माग्यो’

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताएका छन्।

बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे। उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए। उनले देशले नयाँ कोर्सको माग गरिरहेको पनि बताए।

उनले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा,नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने बताए। सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको उनको भनाइ छ।

‘देशले नयाँ कोर्षको माग गरिरहेको छ,नेता खनालले भने,देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच,विचारका साथमा,नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ।

त्यो माग अहिले सर्वत्र व्याप्त छ। सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ। यसले जनतालाई छोएको छैन। सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन।

हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ,त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु? बजेट दिएको केही गर्नु। उहाँहरुलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन्। हामी निमित्तमा सहभागी छौँ। तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन।

यसमा हाम्रो वृहत असन्तुष्टि छ। मुलुकको अर्थतन्त्र हेर्नुभयो भने त्यस्तै संकटपूर्ण छ। देश वि.सं.१९९५ तिरको डाटा हेर्नुभयो भने त्यतिबेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गर्दथ्यो,अहिले ५ प्रतिशत भन्दा कम भएको छ। नेपाल अनुद्योगीतर्फ गइरहेको छ।

भएका उद्योग चलेका छैनन्,चलेका उद्योग ३० प्रतिशत भन्दा कम छ। रोजगारी देशमा छैन। देशको नेतृत्वप्रतिको अविश्वासका कारण बाहिर जान बाध्य छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताए।