एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बैठक १५ मिनेटपछि पुनः बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए।

सोमबारको बैठकमा एमाले, राप्रपा तथा रास्वपाका सांसदहरूले समय लिएर बोलेका थिए। उनीहरूले मिटरब्याज पीडितको विषयमा, लघुवित्त पीडितहरूको विषयमा र दुग्ध उत्पादक कृषकहरूको विषयमा धारणा राखेका थिए। कतिपय मन्त्रीहरूलाई बर्खास्त गरिनुपर्ने माग पनि गरिएको थियो।

सभामुख घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। उनीहरूले नाराबाजी पनि गरेका थिए। भ्रष्ट मन्त्रीहरूलाई कारबाही गर, दुग्ध किसानहरूलाई भुक्तानी दे, संसदीय मर्यादा कायम गर जस्ता नाराबाजी उनीहरूले गरेका थिए।

सभामुखको आग्रहमा एमालेका सांसदहरू सहमत नभएपछि बैठक स्थगित गरिएको हो।