राजकुमार राना मृत्यु प्रकरण: प्रहरी सहायक हवल्दारसहित दुई जना कारागार चलान

धनगढी। कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले रानाको हत्या आरोपमा पक्राउ परेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी पुर्पक्षका लागि कारागार चलान भएको जानकारी दिए।

बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनीहरूलाई कारागार चलान गर्न आदेश दिइएको थियो। कारागार चलान हुने चौधरी नेपाल प्रहरीका सहायक हवल्दार हुन्। घटना भएको पाँच महिनापछि मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए। रानाको हत्या गरेको भन्दै उनका श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आएका थिए।

१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो। तर उनी घर त आएनन् नै १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो।

२० असोजदेखि परिवारसँग सम्पर्क नभएपछि राजकुमारको परिवारले नातागोतासँग उनीबारे सोधीखोजी गरेका थिए। कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारका दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएका थिए।

राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए। सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी)ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएको अडियो समेत सार्वजनिक भएको थियो।