साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल: भुटानलाई हरायो नेपालले

काठमाडौं। साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ। नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो।

जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ। नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो खेलमा बंगलादेश सँग ०–२ गोलले पराजित भएको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार खेलिएको खेलमा नेपालले तीनवटै गोल पहिलो हाफमा ग¥यो। नेपालका लागि पूजा गिरी,भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक–एक गोल गरे।

जारी प्रतियोगितामा नेपाल,भारत,बंगलादेश र भुटान गरी चार राष्ट्रको सहभागिता रहेको छ। लिग चरणपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन्।

हाल एक खेल खेलेको भारत तीन अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ। भारतले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो।

यसैगरी दुई खेल खेलेको नेपाल तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको बंगलादेश तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ।

प्रतियोगिताको लिग चरणमा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी बिहीबार भारतसँग खेल्नेछ। त्यसअघि मंगलबार भारत र बंगलादेशबिच खेल हुनेछ।

लिग चरणको अन्तिम खेल भने शुक्रबार बंगलादेश र भुटानबिच खेलिने छ। प्रतियोगिताको फाइनल खेल मार्च १० तारिखमा खेलिने छ।