त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला: आज नेपाल र नेदरल्यान्ड्स उपाधिका लागि भिड्दै

काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा आज मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ।

फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ।

लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए।

लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो। नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो।

अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो।

आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो।

आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो।

आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो।

लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो।

नेदरल्यान्ड्स र नामिबियाबिच खेलिएको लिग चरणको अन्तिम खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो।

अन्तिम खेल वर्षाले बिथोलिएपछि नामिबिया उपाधि होडबाट बाहिरिएको थियो।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो।