प्रचण्डको नयाँ मन्त्रीमण्डलको सङ्ख्या २० पुग्यो, को-को भए त मन्त्री ?

काठमाडौ। नयाँ गठबन्धन गरी मन्त्रिपरिषद विस्तार थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डलको संख्या २० पुर्याएका छन्।

एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का २ जना गरी २० सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्।

नेकपा एसले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बनाउँन नाम पठाएको उनीहरुको सपथ ग्रहण बाँकी छ।

यस अघि प्रचण्डले बुधबार नै नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए।

जसमा एमालेको नेतृत्व गर्दै सरकारमा गएका सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन्। पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन्।

दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति,ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन्। शक्तिबहादुर बस्नेत ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री,रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि,र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्। डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन्।