नेपाल प्रहरीमा ८ एसपी बन्न यी १२ डीएसपीको प्रतिस्पर्धा

काठमाडौं । प्रहरीमा रोकिएको डिएसपीको सरुवा–बढुवाको तयारी थालिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले नयाँ गृहमन्त्रीसँग ६ महिनादेखि रोकिएको डिएसपीको बढुवा र सरुवा गर्ने विषयमा छलफल गरेका छन्। दुई दिनयता उनीहरूबीच सरुवा बढुवा खुलाउने विषयमा लगातार छलफल भएको थियो।

आइतबार र विहीबार प्रहरी महानिरीक्षकको ब्रिफिङपछि केही दिनभित्रै सरुवा–बढुवा गर्न अनुमति पाइसकेका छन्। प्रहरीमा महिनौंदेखि एसपीका आठ पद रिक्त छन्।

जसमा १४ जना प्रतिस्पर्धी हुँदा नेताका पिएसओलाई बढुवा गर्ने विवादले निर्णय हुन सकेको थिएन। तत्कालिन गृहमन्त्रीले प्रचण्डका पिएसओलाई बढुवा गर्न खोज्दा रोकिएको थियो। जसले गर्दा अन्य आकांक्षीहरुमाथि अन्याय भएको छ।

त्यस्तै, माघ महिनामै हुनुपर्ने डिएसपीको सरुवा पनि हुन सकेको छैन। सरुवा र बढुवा दुवै आगामी साता हुने सम्भावना रहेको एक अधिकारीले बताए। सरुवा–बढुवामा पटक्कै हस्तक्षेप नगर्ने उनले घोषणा गरेका छन्। सरुवा–बढुवा कत्तिको निष्पक्ष हुन्छ, त्यसले लामिछानेको परीक्षण गर्नेछ।

साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश पाएपछि दुई पद रिक्त भएको थियो । त्यस्तै गत कात्तिक २४ गते पाँच जान एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त भएको छ ।

त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भएसँगै जम्मा रिक्त पद संख्या ८ पुगेको हो ।

नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावलीअनुसार एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । ८ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा छन् ।

एसपीको प्रतिस्पर्धामा रहेकाहरू ०६१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू छन् । उनीहरू ०७२ साउन १ गते डीएसपी बनेका थिए । यो ब्याचकाहरूको तीन चरणमा बढुवा भएर एसपी बन्नेछन ।

१२ डीएसपीमध्येबाट आठ जना एसपीमा बढुवा हुनेछन् भने थप चारजना छुट्ने छन्। आठ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको मुख्य प्रतिस्पर्धी हुन्।

प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्ने तयारी गरेको भएपनि नारायणकाजी श्रेष्ठले रोक्दै आएका थिए।