दीपक मनाङेले त्यागे एकीकृत समाजवादी

पोखरा। गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन्।उनी स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका थिए। तर, केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि पार्टी छोडेका हुन्। उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन्।

स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,उनले भनेका छन्।

विना कारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको उनको टिप्पणी छ। ‘बिना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ,उनले भने,गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन सधैँ प्रतिबद्ध छु।

उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पुर्‍याउन सहज नहुने बताएका छन्। नयाँ गठबन्धनले पनि बहुमत नपुर्‍याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने बताए।

नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनको दल त्यागपछि गण्डकीको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ।