भ्रष्टाचार आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो।

सो नगरपालिका वडा नं.५ स्थित आधारभूत विद्यालय लक्ष्मिनिया जटहरामा २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको उनीहरूविरुद्ध आरोप रहेको छ।

सोबारे आयोगले अनुसन्धान गर्दा तत्कालीन इन्जिनियर सत्यपाल सौरभले तयार गरेको ‘वर्क कम्प्लिेट रिपोर्ट’ मा कार्य फिल्डमा गरिएको इष्टिमेटको दररेटअनुसार बढी कार्य भएको देखाएका थिए।

सोबाट जम्मा ८६ हजार ६४७ रुपैयाँ बढी भुक्तानी गर्न प्रतिवेदनरविल तयार गरी पेश गरेको पाइएको छ। उनलाई सोही रकम बराबरको बिगो कायम गरी जरिवाना तथा कैदको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

त्यस्तै, तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले प्राविधिकबाट अन्तिम भुक्तानीका लागि बनाइएको कार्य सम्पन्न प्रतिवेदन अनुसार नगरपालिकाबाट प्राप्त रकमबाट सम्झौता बमोजिम १४ लाख ३५ हजार ९ सय रुपैयाँ गलत नापजाँच गरी थप गरिएको पाइएको छ।

यसबाट बढी रकम ८६ हजार ६४७ घटाइ हुन आउने रकम १३ लाख ३९ हजार २५२ रुपैयाँ मात्र खर्च हुनुपर्नेमा विल भरपाई र लेखापरिक्षण प्रतिवेदनसमेतका आधारमा १६ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाई हुँदै नभएको कामको झुटा बिल पेश उनले गरेको पाइएको छ।

झुटा बिलबाट उनले ३ लाख ३ हजार ७९७ रुपैयाँ बढी खर्च लेखेकोले अन्तरविरुद्ध सोही रकम बराबरको बिगो र कैद माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।