देशका अधिकांश भू-भागमा वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना महाशाखाले जनाएको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भोलि शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। उनले आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने नदेखिने बताए। तीन दिनपछि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ।

महाशाखाको विवरणअनुसार बुधबार काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको थियो। सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

यस्तै सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।