बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिन सुरु

काठमाडौं ।बाँसबारी जग्गा प्रकरणमा जाेडिएका विनोद चौधरीको बयान लिन सुरु गरिएको छ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ।

सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम जारी रहेको स्रोतले बतायो।

आज बिहान सिआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो। उनी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धान गर्दै आएको छ। यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो। विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन्।

सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन्।