महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय सअनुसन्धान ब्यूरो (सीआई)ले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरेको छ।

सीआईबीका अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर महरालाई हाजिरी जमानीमा छाड्न लागिएको हो।

महरा पक्राउ परेको दिनदेखि नै नर्भिक अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था कमजोर रहेको र बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने, बयान सकिएपछि पुनः भर्ना गर्ने गरिएको थियो।

महरालाई घाँटीको टीबीदेखि मस्तिष्कको नशासम्म समस्या छ। उनी हिड्न समेत नसक्ने अवस्थामा रहेको अनुसन्धानमा रहेका एक अधिकृत बताउँछन्।

सीआईबी प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले कार्यालय खुलेपछि म्याद थप गर्ने वा हाजीरी जमानीमा छाड्ने निर्णय हुने बताए। महरासँग सीआईबीले बुधबार र बिहीबार दुई दिनमा बयान लिइसकेको छ।

गत चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न सीआईबीलाई अनुमति दिएको थियो। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो। सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेपछि उनलाई सिआइबीले पक्राउ गरेको हो।