काठमाडौं महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्ना नगर प्रहरी जवानहरुलाई तालिम दिन सुरु गरेको छ।

महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको हो।

महानगरले नगर प्रहरी नियुक्तिका लागि गत असार २० मा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो। रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको थियो ।

महानगरले थप गरेको ४४ जना नगर प्रहरीलाई तालिममा राखेको हो । नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइने अधिकारीले बताए। यसअघि शारीरिक तालिम प्रदान गरिसकिएको छ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ। आजदेखि हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन्। यसपछि नियमित ड्युटीमा खटाइनेछ।

तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिने पाण्डेले बताए ।

स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिने छौं’ उनले भने । १० दिनको तालिम सकिएपछि परीक्षा लिइनेछ । यसपछि प्रमाण पत्र प्रदान गरिनेछ ।

नगर प्रहरीको तालिमका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुने भन्दै महानगरको छवि नगर प्रहरीको काँधमा रहेको बताए।

नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन,सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ, उनले भने।

काठमाडौं महानगरपालिकाले सहरी व्यवस्थापनको नाममा फुटपाथ तथा साना सडक व्यवसायीलाई न्यूनतम मानवीय संवेदना समेत ख्याल नगर धरपकड गरेको भन्दै आलोचना हुँदै आएको छ।

गत महिना मात्रै महानगर प्रहरीको आक्रमणबाट सुन्धारामा ६ फुटफाथ व्यवसायी घाइते भएका थिए।