अदालतका काम व्यवस्थित हुँदै छन्: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन्।

सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताए। उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे।

अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै उनले सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए।

१० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको जानकारी दिँदै उनले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध रहेको बताए।

अदालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रुपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरुमा राम्रो दृष्टिकोणले मुद्दा निरुपण भएका छन्,’उनले भने,छिटो छरितो भएका छन्।

हामीसँग धेरै पुराना मुद्दाहरु छैनन्। धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरु छन्। ति मुद्दाहरुलाई हामीले पक्षबाट न्युनिकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ। अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन्।

मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध छौँ,लागिरहेका छौँ। अहिलेको भोलि नै हुनेकुरा होइन। सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छौँ।

प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको व्यवस्थापन पनि बिस्तारै हुँदै जाने बताए।