रास्वपाका सभापति रविपछि डीपी र कविन्द्र पनि सहकारी ठग

काठमाडौं।गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएको नेपाली काँग्रेसले रास्वपाका थप मन्त्री तथा नेताहरुमाथि पनि गम्भीर आरोपहरु लगाउन थालेको छ। सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई मुछ्ने काँग्रेसको योजना पुरानै भइसक्यो।

संसदमा यही विषयमाथि छानविन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने काँग्रेसको ‘बटमलाइन’ कायमै राखेको छ।

साथै काँग्रेस रास्वपाविरुद्ध खनिन यतिमा मात्रै रोकिएको छैन। सास्वपाकै थप मन्त्री र केन्द्रीयस्तरकै नेताहरुमाथि पनि सहकारी प्रकरणको विषयलाई लिएर काँग्रेस थप आरोप थोपर्न लागी परिरहेको हो।

संसद बैठकमा काँग्रेसले रवि बाहेक रास्वपा उपसभापति एवं श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पनि सहकारी ठगको रुपमा चित्रण गर्न थालेकाे छ। 

काँग्रेसले रास्वपाका सभापति एवं गृहमन्त्री रवि र नेताहरुलाई आरोप मात्रै लगाइरहेको छैन। उनीहरुमाथि अनुसन्धान गर्न छानविन समिति बनाउनु पर्ने पनि सर्त अघि सारिरहेको छ।

यदी यो नभए आगामी संसद बैठक नै अबरुद्ध गर्ने चेतावनी पनि दिन थालेको छ। यसअघि काँग्रेसले एक पटक संसद बैठक अबरुद्ध गरेको थियो।

निरन्तर संसदमा गृहमन्त्रीविरुद्ध आवाज उठाइरहेको काँग्रेसले मंगलबारको बैठकमा पनि रास्वपाका थप नेताहरुको नाम लिँदै सहकारी ठगी प्रकरण्मा मुछेको हो। तर उता गृहमन्त्री एवं सभापति रवि लामिछानेले भने यसविषयमा समाचार मात्रै आएकाले त्यसलाई गम्भीर रुपमा लिन आवश्यक नभएको दावी गरिरहेका छन्।

उता नेपाली काँग्रेसले भने संसदमा गृहमन्त्रीलाई बोल्न दिएको छैन। मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको थियो।

यस्तो अवस्थामा रविले आफूलाई संसदबाटै जवाफ दिन पाउनुपर्ने बताउँदै आइरहेका छन्। काँग्रेसको यो गतिविधिलाई लिएर कतिपयले इलामको उपनिर्वाचन लक्षित र गृहमन्त्रीले भ्रष्ट्राचारमा मुछिएका आफ्ना नेताहरु पक्राउ पर्ने डरले यस्तो व्यवहार गरिरहेको टिप्पणी गर्न थालेका छन्।

त्यस्तै काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा सहित अन्य विभिन्न नेताहरु भ्रष्ट्राचार मुद्धामा पर्नसक्ने कारणले काँग्रेसले रविविरुद्ध लगातार घेराबन्दी गरिरहेको जनस्तरबाट बताइन थालिएको छ।

यसैबीच बुधबारको संसद बैठकमा पनि नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणका मुख्य नाइके गितेन्द्रबाबु राई अर्थात जिबी राई गृहमन्त्री रविकै संरक्षणका रहेको अझ गम्भीर आरोप लगायो।

यसरी गृहमन्त्री रविमाथि नेपाली काँग्रेसले एकोहोरो रुपमा खेदो खनिरहेको छ। काँग्रेसको यो व्यवहारले आम नागरिकहरुले समेत आश्चार्य व्यक्त गरिरहेका छन्।

संसदमा जवाफ दिन पनि बन्देज गर्दै एकोहोरो आरोप मात्रै लगाइराख्दा काँग्रेसले संसदमा आफ्नो साखसमेत गुमाइरहेको टिप्पणी हुन थालेको छ।

प्रतिपक्षीबाट निरन्तर आलोचना र थप नेताहरुलाई पनि सहकारी प्रकरणमा जोडिएपछि रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने भने थप अफ्ठ्यारोमा पर्ने स्थिति बनिरहेको छ।