प्रचण्डले सांसद पदबाट तत्काल राजीनामा दिनपर्छ: अध्यक्ष भट्टराई

फाइल तस्वीर

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठर्ने उनले बताए।

‘प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो त्यसलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुदैन,बिहीबार गोरखामा पत्रकारहरुसँग उनले भने,उहाँले पूर्वगठबन्धनलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा निर्वाचन जित्नुभएको छ उनीहरुलाई धोका दिएको ठहर्छ।

त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ। गोरखा–२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो।

प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि भएको उनले बताए। विगतमा पार्टीभित्रको सत्तामुखी रहेका प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको उनको आरोप छ।

‘विगतको मेरो उहाँसँगको सहकार्यले के देखाउँछ भने उहाँ असाध्यै पार्टीको सत्तामुखी अब राज्यको सत्तामुखी देखिन थाल्नुभयो। उहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ। आफ्नो सत्ता र शक्तिका लागि जे पनि गर्न सक्नुहुन्छ,भट्टराईले भने।

प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर प्रचण्डले गठबन्धन परिवर्तन गर्ने गरेको उनको भनाइ छ।

गण्डकी प्रदेश सरकारको सन्दर्भमा कुरा गर्दै भट्टराईले माओवादी केन्द्रलाई सहयोग गर्न नसक्ने बताए। कसलाई सहयोग गर्ने भन्ने बिषयमा आवश्यकताका आधारमा निर्णय गर्ने उनले जानकारी दिए।

उनले भने,अहिलेसम्म माओवादी केन्द्रले हामीलाई षड्यन्त्रमूलक ढंगले धोका दिने काम गरेको र उसका गतिविधि अलोकतान्त्रिक देखिएका छन्, त्यसैले तत्काल उनीहरुलाई साथ दिन सक्ने अवस्था छैन।

नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनलाई सहयोग नगरेमा गठबन्धन भन्दा बाहिर बहुमत पुग्ने अवस्था छ।

अहिले कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन आह्वान भएको छ। नयाँ सरकार गठनका लागि कांग्रेसलाई सहयोग गर्ने वा नगर्ने पनि निर्णय भइनसकेको भट्टराईले बताए।

अर्को पक्षसँग पनि हाम्रो कुरा मिल्छ मिल्दैन टुंगो छैन। त्यसैले केही समय पर्ख र हेर कै अवस्थामा छौ,उनले भने।