महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा गर्भपतन र बलात्कार गरेको आरोपमा जाहेरी

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको र पटकपटक गर्भपतन गराएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।

प्रहरीले भने जाहेरीका बारेमा नै बुझ्ने काम गरिरहेको बताएको छ। जाहेरी आएको पुष्टी गर्दै काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले जाहेरीमाथि नै अनुसन्धान भइरहेको बताए।

‘जाहेरी हुलाकबाट आएको थियो। अहिले जिल्ला सरकारी वकिल कार्यालयबाट पनि आएको छ। हामीले मुलुकी फौजदारी संहिता अनुसार जाहेरी दर्ता गरेपनि उहाँले राखेका मागबारे अनुसन्धान गरिरहेका छौँ,उनले भने, अब एक दुई दिनमा कसरी अघि बढ्ने भन्ने टुंगो लाग्छ।

उनले पक्राउपूर्जीका लागि अनुमति लिन अदालत पनि नगएको बताए। यत्तिका प्रमाणसहित यस्तै जाहेरी लिएर सामान्य व्यक्ति विरूद्ध कोही आएको भए प्रहरीले के गर्थ्यो ? कति दिनसम्म बुझ्थ्यो ? भन्ने प्रश्नमा खत्रीले भने हामीले ठूलो सानो सबैलाई बराबर गर्छौं। रूल अफ ल मा सबैलाई बराबर हुन्छ।

चैत १३ गते पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्। पछि उनले हुलाकमार्फत उजुरी दिएकी थिइन्।

उक्त उजुरीमाथि छानविन गर्न भन्दै आफूहरूले केही समय अघि काठमाडौं प्रहरी परिसरमा पठाएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

आजभन्दा १०/१२ दिन अघि नै हामीकहाँ गुनासो आएको थियो पछि हुलाकमार्फत जाहेरी आयो। हामीले यसमा आवश्यक कारबाही अघि बढाउनु भनेर काठमाडौं प्रहरीलाई लेखि पठाएका थियौँ। प्रहरीले बुझ्दै होला,उनले भने।

बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको,यसअघि बस्नेतले दुईपटकसम्म फकाएर गर्भपतन गर्न लगाएको,पछिल्लो समय बसेको गर्भलाई बस्नेतले झुक्याएर तुहाइदिएको र बिरामी अवस्थामा बलात्कार गरेको दाबी पिडित महिलाको छ।