नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैनः गृहमन्त्री लामिछाने

फाइल तस्वीर

काठमाडौं।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।

शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता पनि जनाए।

‘सबै गुनासाहरु यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन्। सेवाअवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ,’ उनले भने।

मन्त्री लामिछानेले कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए।

‘राष्ट्रसेवकहरुलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्। कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभइ जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ,’ उनले भने।

काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको पनि गृहमन्त्री लामिछानेले बताए।

उनले काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको बताए।

‘सबैजना सुरक्षित हुनुहुन्छ, त्यसकारण शहर जिउँदो छ, उज्यालो छ। शहरमा राति, बिहान, साँझ कतै जानुपर्दा शहरमा खुला ठाउँहरु छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अध्याँरो हुने भन्ने हुँदैन, उनले भने।

मन्त्री लामिछानेले व्यापार व्यवसाय चलायमान भए अर्थतन्त्र पनी चलायमान हुने बताए। त्यसकारण नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरू चौबिसै घन्टा खुलाएको बताए।

सहरलाई चौबिसै घन्टा खुलाइएअनुसार नियम कानुनलाई पनि कडाईका पालना गराउने उनले बताए।

‘यो शहर जिउँदो, जाग्दो शहर क्रियाशिल शहर हो भन्नेकुरा महशुस गराउनुपर्छ। नियम र कानूनहरु कडाईका साथ पालना हुन्छन्, नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन।

प्रहरीको मनोबल अझ बढाउन सकियोस्, सुधारको काम अझै गर्न सकियोस् ,उनले भने।

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए।