सन्दीप प्रकरण: गाउँपालिकामा गौशाला २६ ले दिएको निवेदन माग्न उच्च अदालतको आदेश

काठमाडौं। उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ।

न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो।

उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन्।

उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन्। पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको आरोपमा थप सजाय हुनुपर्ने माग गरेकी छन्।