कमजोर ठान्ने कुचेष्टा गरे देशमा अर्को उथलपुथल हुन्छ: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन्।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिँदै यस्तो बताएका हुन्।

देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र,गणेशमान,कृष्णप्रसाद भट्टराई,गिरिजाप्रसाद कोइराला र प्रचण्डसम्मलाई सामना गरेर आएको बताउँदै उनले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न चेतावनी दिए।

शनिबार रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थिलालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका अध्यक्ष नेपालले आफूहरूको आफ्नै स्वाभिमान,पहिचान,मूल्यमान्यता र महत्त्व रहेको बताए।

हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ’ वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ।

उनले ‘आफ्नो पार्टीको आफ्नै स्वाभिमान र महत्त्व रहेको बताउँदै भने,यो कुरा बुझ्यो भने ठिक छ,नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।

एकीकृत समाजवादीले सात प्रदेशमध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले त्यहाँ आफ्ना पार्टीका चारजना प्रदेश सांसद रहेको र ती चारैजना सरकार निर्माणका लागि निर्णायक रहेको बताए। ‘हाम्रा प्रदेश सांसदहरू जता जान्छन् उतै सरकार बन्छ’ उनले भने,सरकार छाड्यो भने ढल्छ।