सत्ता गठबन्धन कति दिन टिक्ने हो थाहा छैन: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो थाहा नभएकाे बताएका छन्।

सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीति जटिल रहेको बताएका हुन्।

उनले भने,परिस्थिति जटिल छ। छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ।यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन,नेपालले भने,त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ।

मैले दिन सक्दिन। तर पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ।

उनले आफूहरू कसैको धाक धम्की गालीगलौज सहनका लागि नजन्मेको भन्दै दास बन्ने नियतले राजनीतिमा नलागेको भन्दै अपमान नगर्न नेताहरूलाई चेतावनी दिए।

उनले भने,कसैका धाक,धम्की,कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ,समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ। कसैको दास बन्ने हाम्रो नियत होइनौँ।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरू,समानता र न्याय,रोजगारीका समस्याहरू,आर्थिक उन्नतिको कुरामा कम्युनिस्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए।