लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले निरन्तर तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरूसँग स्पष्टीकरण मागेको छ।

आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने राजनीतिक दलहरूसँग आयोगले स्पष्टीकरण मागेको हो। आयोगले आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकसँग स्पष्टीकरण मागेको हो।

आयोगले मंगलबार सूचना जारी गर्दै दलहरूलाई सात दिनभित्र आफ्नो सफाइ सहितको स्पष्टीकरण पेस गर्न भनेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र सो लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्नु पर्ने कानूनी व्यवस्था छ।

आयोगले आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५४ को उपदफा (१) को खण्ड (घ) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?

आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा (८) बमोजिम पेस गर्न ७ (सात) दिनभित्र आयोगमा पेस गर्न जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ आयोगको सूचनामा उल्लेख छ।