दुवै क्षेत्रमा एकीकृत समाजवादीको जमानत जफत

काठमाडौं। उपनिर्वाचन भएका दुवै क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि इलाम–२ र बझाङ प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको हो।

इलाम–२ मा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र पाए। यस्तै, बझाङमा दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए।

सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नो जनाधार रहेको भन्दै एक्लै चुनाव लड्ने उद्घोषका साथ उम्मेदवारी दिएको थियो।

गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन सकेको थिएन। प्रत्यक्षतर्फ भने दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो।