प्रधानमन्त्रीले देशलाई ‘भँडखालो’ मा हाल्दै, विपक्षी दलका सांसद टुलुटुलु हेर्दै

फाइल तस्वीर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग समीकरण जोडेको दुई महिना बितिसकेको छ। अब तेस्रो महिना शुरु हुँदै छ। यो बीचमा सदनबाट एउटा पनि विधेयक पारित भएन्। न प्रधानमन्त्री प्रचण्डले केही काम गर्न सके न मन्त्रीहरुले। दुई महिना यत्तिकै खेर गयो।

देशको प्रधानमन्त्रीलाई समयको कुनै महत्व नै छैन्। एउटै व्यक्तिसँग तीन घण्टा गफ ठोकेर बस्छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा गफिएर बस्नुभन्दा जनता र राष्ट्रको हितमा कुनै निर्णय गरेको भए हुन्थ्यो। रवि लामिछानेले गृहमन्त्रीको शपथ खानेबित्तिकै भनेका थिए,‘मैले खल्तीमा राजीनामा बोकिसकेको छु। काम गर्न सकिन भने म राजीनामा दिन्छु।

आफूसँग नाम जोडिएका जीबी राईलाई समेत उनले पक्राउ गर्न सकेनन्। सहकारीको ठगीको आरोप लागेका राईविरुद्ध इन्टरपोलबाट नोटिस् जारी हुँदासमेत समात्न सकिएको छैन्। जसका कारण लामिछानेमाथि प्रश्न उठेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि यो पटक कुनै काम गर्लान्जस्तो देखिँदैन्।

दोस्रो पटक सोही मन्त्रालयको जिम्मा पाएका उनले न सिण्डिकेट हटाउन चासो देखाएका छन् न ट्याक्सी, फो स्टक टेम्पो र ढुवानी गाडीको । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको के कुरा गर्नु ? सहकारीमा व्यापक समस्या देखिँदा पनि उनलाई ‘हाइसञ्चो’ छ।

सहकारीले करोडौं बचतकर्ताको खर्बौं रुपैयाँ खाइदिएको छ। तर, उनलाई मतलब नै छैन्। सहकारीमा देखिएको समस्या कसरी समाधान गर्ने? बचतकर्ताको पैसा फिर्ता दिन पहल गर्ने, सहकारी सञ्चालकहरुलाई कारबाही गर्नेतिर उनको ध्यानै छैन्। बचतकर्ता पीडामा छन्, उनीचाँहि रमिता हेरेर बसेका छन्।

यता, देशभरको सरकारी, सार्वजनिक, गुठी, तालपोखरी, मठमन्दिरलगायतको जग्गा संरक्षण गर्न पनि मन्त्रालय चुकेको छ। सरकारी सम्पत्ति सबै व्यक्तिहरुले आफ्नो नाममा लगिसके, सरकार रित्तै। त्यस्तालाई कानुनको दायरामा ल्याउनुको साटो मन्त्री मौनता साँधेर बसेका छन्।

वर्तमान अर्थमन्त्रीमा वर्षमान पुन छन्। उनी आएपछि राजश्व उठ्नमा झनै कमी आएको बताइन्छ। सेयर बजार डामाडोल छ। बजारलाई आर्थिक मन्दीले छपक्कै छोपेको छ। सबै क्षेत्रमा मन्दी छ। घरजग्गा, सेयर र गाडीको कारोबार ठप्पजस्तै छ भन्दापनि कुनै फरक नपर्ला।

यता, व्यापारीहरु व्यापार नै छैन् भन्छन्। पसल खोल्नु मात्र भएको व्यापारीहरुको गुनासो छ। व्यापारिक मलहरुमा पनि पहिलेजस्तो व्यापार छैन्। सटरबाहिर जताततै टु–लेट लेखिएको व्यानरहरु देखिन्छ। यता,कोठा र फ्ल्याट खाली हुने क्रम बढ्दो छ। बैंकबाट कर्जा लिने कोही छैन्।

यता, बचतकर्ताले बैंकमा भएको आफ्नो पैसा निकालेर घरमा लुकाउन थालेका छन्। जसका कारण बजारमा पाँच सय र हजारको नोटको अभाव भएको छ। बैंकहरु घाटामा गएको खबरहरु बाहिरिरहेको छ। सेयर होल्डरहरुलाई बोनस दिन नसकेको पनि आइरहेको छ।

सेयर होल्डर सेयर बेच्न तातिएका छन् तर कसले किन्ने ? सेयर बिक्रकिो सूचना निकाल्ने काम मात्रै भइरहेको छ। मन्दी झनझन् गहिरिँदै गएको छ। मालपोत र यातायात कार्यालय सुनसान छ। घरजग्गाको किनबेच शून्यजस्तै छ। गाडीको हालत पनि उस्तै। सेयरको मूल्य पनि निरन्तर ओरालो लागिरहेको छ।

बैैंकबाट ऋण लिनेहरुले धितो खानु भनेर हात उठाइसकेका छन्। आफूहरु ऋण दिन असमर्थ रहेको भन्दै उनीहरुले हात उठाएका हुन्। निजी संघसंस्थामा कार्यरत कर्मचारीहरुले महिनौंदेखि तलब पाएका छैनन्। जता हेर्यो समस्यै समस्या छ। समाधान गर्ने सोच कसैसँग पनि छैन्।

देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । जनतालाई खानै धौ धौ परेको अवस्था छ। बिहान खाए, बेलुका के खाने ? भन्ने चिन्ताले आम सर्वसाधारणलाई पिरोल्ने गरेको छ । काम नपाउँदा विदेशिने युवाको संख्या बढ्दो छ । सरकारी खर्च धान्न विदेशी ऋणकै भर पर्नुपर्ने अवस्था छ।

सहकारीले पैसा खाइदिएर करोडौं बचतकर्ता सुकुमबासी बनेका छन्। देश समस्याले जकडिसकेको छ तर प्रधानमन्त्रीलाई वास्तै छैन्। बस् आफ्नो कुर्सी बचाउन पाए भयो। उनी न आफूले सकिन् भनेर मार्ग प्रशस्त गरिदिन्छन् न काम नै गर्छन्। अनि यस्तो पाराले कसरी हुन्छ ?

जनताले तिरेको करबाट सांसदहरुले तलबभत्ता खाइरहेका छन्, सेवासुविधा लिइरहेका छन्। तर, सांसदले कामचाँहि के गरेका छन् ? सांसदहरुको तलबभत्ता र सेवासुविधाको नाममा महिनौं अर्बौं रुपैयाँ खर्च हुन्छ। यद्यपि, प्रगति केही छैन्। राज्यको ढुकुटी सोत्तर बनाउने काम मात्रै भइरहेको छ।

माधव नेपाल,रवि लामिछाने,उपेन्द्र यादव,प्रचण्ड र केपी ओलीले देशलाई खाल्डोमा लगेर हालिदिए। संघ भताभुङ्ग छ, प्रदेश सरकार लथालिङ्ग। प्रदेशमा सरकार गठन हुन सकेको छैन्। केन्द्र स्तरको किचलोले गर्दा प्रदेशमा पनि कुनै प्रगति हुन सकेको छैन्। काँग्रेस र राप्रपा पनि त्यस्तै भयो।

न सदन अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग्न सक्छ न सडक तताउन नै। सरकारले जे सुकै गरोस्, टुलुटुलु रमिता हेरेर बस्छ। यही अवस्था रह्यो भने देशको अवस्था झनै नाजुक हुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको सरकारलाई बर्खास्त गर्न सक्दैनन्। सदन अवरोध हुन्छ भन्ने डरले सदन नै बन्द गरेर राखिएको छ।

देश दलदलमा फसिसकेको छ,अब कसरी बाहिर निकाल्ने ? सबै ढोका बन्द छ, बाहिर निस्किने ठाउँ नै छैन्। राजाले शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनेर पदबाट बर्खास्त गरेको थियो । देशको प्रमुख राष्ट्रपति हुन्छन्। तर, हाम्रो देशको राष्ट्रपतिलाई कुनै मतलब नै छैन्।

देशलाई कसरी उकास्ने ? भनेर राष्ट्रपतिले सबै राजनीतिक दलका नेता र कानुनविद्सँग छलफल गर्नुपर्ने हो । तर, उनले चासो दिएका छैनन्। राष्ट्रपति पौडेलले वैशाख २८ गते दुवै संसदको अधिवेशन आह्वान गरेका छन् । काँग्रेसले सदन चल्न नदिने घोषणा गरिसकेको छ ।

यसपटक पनि एउटा पनि विधेयक पारित हुँदैन् । पाँच वर्षको अवधि त्यतिकै सकिन्छ। निर्वाचन भएको १७ महिनामा बल्लतल्ल चार वटा विधेयक पारित भयो।यता, तलबभत्तामा चाँहि जनताले तिरेको खर्बौं रुपैयाँ कर खर्च भयो। जनताले दिनभर लाइन बसेर, घण्टौं हिँडेर मतदान गरे।

निर्वाचन गर्दा पनि जनताले तिरेको अर्बौ रुपैयाँ खर्च भयो। तर, प्रगति के ? खर्च भइसकेको छ, उपलब्धि केही छैन्। सरकारको पारा देखेर जनता आजित भइसकेका छन्। वर्तमान प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादीलाई जनताले पत्याएको होइन्। जम्मा ३२ सीट प्राप्त पार्टीका अध्यक्षले जोडजाड गरेर प्रधानमन्त्री खाइरहेका छन्।

आएदेखि उथलपुथल गर्छु भन्दै हिँडेका उनको भनाइ जनताले बल्ल बुझेका छन्। देशलाई लगेर खाल्डोमा हाल्नु नै उथलपुथल गर्छुको अर्थ रहेछ। जनताले काँग्रेसलाई देश चला भनेको तर जालझेल गरेर ३२ सीटेले प्रधानमन्त्री खाएको। यो सरकारलाई हटाउन आवश्यक देखिसकेको छ।

किन कि देश बर्बादीको बाटोमा गइसकेको छ। काँग्रेसले कि हामी सरकार चलाउन सक्दैनौं त्यसैले ३२ सीटेलाई दिएको भन्नुपर्यो। कि त मैदानमा उत्रिनुपर्यो। रमिता हेरेर बस् भनेर जनताले भोट दिएका त होइनन्। विगतमा माओवादी सांसदले संसदमा टेबुल फुटायो,बजेट भाषणको सुटकेश नै लुट्यो।

एमालेले सांसदले ९ महिना संसद अवरुद्ध गर्यो। विपक्षी दलका सांसद केही गर्नै सक्दैनन्। काँग्रेस, राप्रपालगायत दलका सांसदसँग बोल्ने हिम्मत पनि नभएकै हो ?