एक महिनामै १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगे

काठमाडौं। प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन्। चैत महिनामा रोजगारीका लागि १०१ नेपालीले रुस जानका लागि श्रम स्वीकृति लिएका हुन्। त्यस्तै ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार चैत महिनामा १०१ नेपालीले संस्थागत श्रम स्वीकृति लिएका हुन्। म्यानपावर व्यवसायी मार्फत उनीहरू रुस पुगिसकेका छन्।

रुस र युक्रेनबिच युद्धका कारण नेपालीलाई दुवै देशमा जान प्रतिबन्ध छ। प्रतिबन्धका बिच नेपालीहरू म्यानपावर व्यवसायीमार्फत श्रम स्वीकृति लिएर रुस पुगेका हुन्।

विभागले २०८०/०९/१९ गतेदेखि श्रम स्वीकृति दिन स्थगन गरेको थियो। श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेसा व्यवसायी गरी बिदामा नेपाल आएका कामदारहरूको लागि भन्दै २०८०/११/०९ गते पुनः श्रम स्वीकृति सुरू गर्ने निर्णय गरिएको थियो।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेका थिए। त्यही आधारमा ५ जनाले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

त्यस्तै रूसकै एक कम्पनीमा कामदार पठाउन छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका कामदारको हकमा अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको थियो । २०८०/११/१६ गते सचिव भण्डारीले संस्थागत श्रम स्वीकृति दिने निर्णय गरेका थिए।

उक्त निर्णयपछि विभागले १०१ जनालाई श्रम स्वीकृति प्रदान गरेको विभागका महानिर्देशन डण्डुराज घिमिरेले बताए। अहिले श्रम स्वीकृति दिनमा रोक लगाइएको उनको भनाइ छ।

श्रम मन्त्रालयले तत्काल रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्ने निर्णय गरेको थियो। सोही आधारमा हाललाई रोकिएको घिमिरेले बताए।