स्थिति चिन्ताजनक छ,परिस्थितिलाई सम्हालियोस्: महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) विभाजनप्रति समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चिन्ता व्यक्त गरेका छन्।

आइतबार जसपा सङ्घीय परिषद्का अध्यक्ष अशोक राई र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ समूहले पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमण रहेकै बेला असन्तुष्ट समूहले दिएको निवेदन निर्वाचन आयोगले स्वीकृत गरिसकेको छ। मोर्चाका घटक समेत रहेका जसपा विभाजनबाट स्थिति चिन्ताजनक भएको भन्दै उनले परिस्थितिलाई सम्हालेर लैजान शीर्ष नेताहरूलाई आग्रह गरेका छन्।

हिजोबाट स्थिति चिन्तापूर्ण भएको छ। यस्तो बेलामा सम्हालेर लैजानुपर्छ। बैठक बस्ने विषयमा मोर्चाका शीर्ष नेताहरूसँग मैले कुराकानी गरेको छु। मोर्चाको बैठक बस्ने कुरा भएको छ। उपेन्द्रजी फर्किएपछि बसेर छलफल गर्छौं’,सोमबार रातोपाटीसँग कुरा गर्दै उनले भने।

सरकारकै लडाइँमा लिप्त हुने प्रवृत्ति देशको राजनीतिको असाध्यै नकारात्मक पाटो भएको उनले टिप्पणी गरे। अहिलेको स्थितिले देशको सिस्टमै परिवर्तन आवश्यक छ भन्ने कुरा यसले छर्लङ्ग पारेको उनको भनाइ छ। महासचिव विप्लवले केही शक्तिलाई समाजवादी मोर्चा बनेको मन समेत नगरेको बताए।

‘केही शक्तिलाई समाजवादी मोर्चा बनेको पनि मन परेको छैन। समाजवादको प्रस्ताव पनि मन परेको छैन। नेपाली जनताको चाहनालाई एकीकृत ढंगले अगाडि बढाउन पहल भएको छ। त्यसमा पनि एक थरी मानिसहरू तरङ्गित छन्।

यस्तो बेलामा सबै संयमित हुनुपर्छ’,पछिल्लो स्थितिबारे उनले भने,एक पटक सबै बसौँ। समीक्षा गरौँ। देशको स्थिति जसरी अस्थिर र अराजक बनिराखेको छ। यसले हामीलाई चिन्तित गराएको छ। निकासको बहस जरुरी छ। शासकीय प्रणाली व्यवस्थापकीय प्रणाली मात्रै होइन नयाँ ढङ्गले सोच्नु पर्छ।

यस्तै उनले देशको पछिल्लो राजनीतिक स्थितिलाई दुई तरिकाले हेरेको बताए। एउटा अन्तर्राष्ट्रिय ध्रुवीकरणको प्रभाव नेपालमा परेको उनको भनाइ छ।

अर्को नेपालमा जुन प्रगतिशील समीकरण बनेर राजनीतिलाई स्थिरतातर्फ लैजाने पहल भइरहेको थियो त्यही बेला कमजोर बनाउने खेलहरू देशभित्र पनि भइरहेको उनको निष्कर्ष छ। यसलाई नेताहरूले गम्भीरतापूर्वक लिँदै दलभित्रको आन्तरिक विवाद दलभित्रै छलफल गर्ने परिपाटी बसाल्नुपर्ने उनले प्रतिक्रिया दिए।