ललितपुरको आगलागीमा घाइते दुई जनाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। ललितपुरको बाफलमा आगलागी हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

आगलागीमा परी घाइते भएका पाँच जनामध्ये गम्भीर अवस्थामा रहेका दुई बालिकाको सोमबार साँझ मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए।

मृतकहरूमा ८ वर्षीया अलिसा गिरी र ४ वर्षीया प्रिया गिरी छन्। सोमबार सवा ७ बजेदेखि साढे ७ बजेभित्र दुबै जनाको मृत्यु भएको पाठकले बताए।

अलिसाको छाला ८० प्रतिशत र प्रियाको १०० प्रतिशत जलेको थियो। उनीहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नरेशराज सुवेदीले पनि दुई बालिकाको मृत्यु भएको जानकारी दिए।आइतबार बिहान करिब १० बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १७, बाफलमा आगलागी भएको थियो।

मोबिल राखिएका ड्रममा आगो सल्किँदा विस्फोट भएको थियो। यसपछि आगलागी हुँदा पाँच जना घाइते भएका थिए।घाइते ३५ वर्षीय सञ्जय गिरी, उनकी श्रीमती रूपा र भतिज मित गिरीको किस्ट अस्पतालमा उपचार भइरहेको छ।

मृतक दुई बालिका सञ्जय र रूपाका छोरी हुन्।सञ्जयको ३५ प्रतिशत छाला जलेको छ। उनको श्वासनलीमा पनि असर देखिएको पाठकले बताए।

उनकी श्रीमती रूपाको ६० प्रतिशत छाला जलेको छ र आइसियूमा उपचार भइरहेको छ।  त्यस्तै भतिज मितको १५ प्रतिशत छाला जलेको र वार्डमा उपचार जारी छ।