चट्याङ लागेर २ जनाको मृत्यु, ३ जना घाइते

सांकेतिक तस्वीर

काठमाडौं। बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको हो।

त्यस्तै अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी हुन्।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका ३ जना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ। सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय,उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।