होटल र स्पाको नाममा काठमाडौंमै बालिकालाई यौन व्यवसायमा लगाउने दुइ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। एक साताअघि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको टोखा नगरपालिका-९ मा रहेको खाजाघरबाट बालिकाको उद्धार गर्‍यो।

बालिकालाई वेटर भनेर राख्ने र यौन व्यवसायमा लगाउने सूचना प्रहरीले पाएको थियो। सूचनाअनुसार वैशाख १८ गते साँझ पुगेको प्रहरीले बालिकालाई उद्धार गरी होटल सञ्चालकलाई पक्राउ गर्‍यो।

ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार त्यतिबेला होटलमा खाजा खान जाने ग्राहकले नै प्रहरीलाई सूचना दिएका थिए। अनुसन्धानका क्रममा ती बालिकालाई गत कात्तिक महिनादेखि त्यसरी नै काममा लगाएको प्रहरीले फेला पारेको थियो।

पक्राउ परेका होटलका सञ्चालक दार्चुलाको व्यास गाउँपालिका-६ घर भई टोखा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाहीको हरिवन नगरपालिका-२ की ३७ वर्षीया कान्छीमाया घिसिङ ब्युरोको हिरासतमा छन्।

उनीहरूविरूद्ध मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए। उद्धार गरिएको बालिकालाई एक संस्थाको रेखदेखमा राखिएको छ।

  त्यस्तै केही समयअघि  वैशाख २ मा ब्युरोले चाबहिलको फ्रेन्डसिप ब्युटी एण्ड स्पाबाट बालिकाको उद्धार गरेको थियो। त्यहाँबाट ओमकुमारी पुन र पुजा लेवालाई पक्राउ गरेको थियो।

ब्युरोको अनुसन्धानबाट बालिकालाई ओमकुमारीले नवलपरासीस्थित आफ्नो रेस्टुरेन्टबाट काठमाडौं ल्याएको खुलेको छ।

सुरूमा नवलपरासीस्थित आफ्नो रेस्टुरेन्टमा बालिकालाई यौन व्यवसायमा राखेपछि काठमाडौं ल्याएर चाबहिलको स्पामा ल्याएर यौन व्यवसायमा लगाइएको खुलेको एसपी मिश्रले बताए।

बालिकालाई ग्राहकको अनुरोधमा अन्य गेस्ट हाउसमा राइड शेयरिङ एपको प्रयोग गरी पठाउने गरेको समेत पायौं,उनले भने।हाल दुबै सञ्चालक ब्युरोको हिरासतमा छन्।

गत चैत १८ गते काठमाडौं नगरपालिका-१६ मा लाफा नाम गरेको खाजाघरबाट पनि १३ वर्षीया बालिकालाई ब्युरोको टोलीले उद्धार गरेको थियो।

बालिकालाई खाजाघर सञ्चालक २३ वर्षीय नवीनकुमार मगरले डर धम्की र प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको खुलेको थियो।

गोप्य सूचनाका आधारमा छापा मार्दा प्रहरीले फागुनदेखि यौन व्यवसायमा लगाइएको बालिकाको उद्धार गरी नवीनकुमारलाई पक्राउ गरेको थियो।

‍२०८० मंसिर १४ गते नयाँ बसपार्क तथा कलंकीमा रहेका विभिन्न होटल तथा गेस्ट हाउसहरूमा एकसाथ तीन जना बालिकालाई प्रहरीले उद्धार गरेको थियो।

ती बालिकालाई धागो काट्ने,घरहरूमा बच्चा हेर्ने तथा होटलमा सरसफाइको काममा लगाइदिने भनेर जबरजस्ती यौन व्यवसायमा लगाएको प्रहरी अनुसन्धानमा खुलेको थियो।

त्यतिबेला तनहुँ घर भई टोखा नगरपालिका-२ बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पूजा राना पक्राउ परेकी थिइन्।

उनले नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेस्ट हाउस सञ्चालन गर्दै बालिकालाई यौन व्यवसायमा लगाउने गरेको पाइएको थियो।यस्ता घटनाक्रम काठमाडौंमा बढ्दो रहेको एसपी मिश्रले बताए।

बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएमा त्यसलाई मानव बेचबिखन नै मानिन्छ,उनले भने,त्यसैले पक्राउ परेका व्यवसायीलाई मानव बेचबिखनको मुद्दा चलाइन्छ।

मानव बेचबिखन तथा ‌ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनुलाई मानव बेचबिखन र ‌ओसारपसार गरेको मानिने भनिएको छ।

त्यस्तै, उपदफा २ को (ख) मा ललाई फकाई, प्रलोभनमा पारी,झुक्याइ,जालसाझ गरी जबरजस्ती गरी,डरधम्की तथा प्रलोभनमा पारी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा सारेमा मानव ओसारपसार गरेको मानिने उल्लेख गरिएको छ।

एसपी मिश्रका अनुसार उद्धार गरिसकेपछि बालिकाले प्रायः झुट बोल्दैनन्। उनीहरू प्रहरीलाई वास्तविक बताउँछन्।उनीहरूसँगको कुराकानीमा अधिकांशले सुरूमा पढाइदिने,खान-बस्न दिने बहानामा वेटर बनाएको र जबरजस्ती यौन व्यवसायमा लगाएको बताएका छन्।

बस्न-खान दिन्छु भने विश्वास लागेर काममा लागेको उनीहरू बताउँछन्।बालिकाहरूको आफन्त नहुने र काठमाडौंमा बस्ने खाने टुंगो नहुँदा यस्तो काम गर्न बाध्य हुनुपरेको बताएका छन्। प्रहरीले ती बालिकाहरूलाई सुरक्षित आवासमा राखेको छ।