गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं। गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पेसी तोकिएको छ। प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध कांग्रेस सर्वोच्च हदालत पुगेको हो।